[Marganugami Daily] सौभाग्य प्राप्तिका लागि वरको पूजा विवाहिताहरू आज वटसावित्री पर्व मनाउ“दै

कमलेश यादब
सिरहा, १ जेष्ठ । मिथिलाञ्चलका नारीले आज श्रद्धापूर्वक बरसाइत गर्दैछन् । सौभाग्य–समृद्धि प्राप्ति का लागि यस व्रतमा वरको रूख को पूजा–आजा गर्ने चलन छ ।
वरको रूखको मूलमा ब्रह्मा, विष्णु तथा अग्रभागमा शिवको बास हुन्छ र सावित्री पनि सोही रूखमै प्रतिष्ठापित भएको विश्वासअनुसार यस व्रतको शुरुवात भएको हो । त्यसैले यसलाई वट–सावित्री पूजा भन्ने गरिएको छ ।
मैथिली भाषामा वटलाई वर भनिन्छ । अर्कोतिर पतिलाई पनि वर भन्ने गरिएको पाइन्छ । वटबृक्ष दीर्घायु बृक्ष हुने भएकाले यसको पूजा गर्ने मान्यता रहेको बताइन्छ ।
यो व्रत नवविवाहिताले विवाह भएपछिको पहिलो पटक विशेष विधिविधानका साथ गर्ने गर्दछन् भने दोस्रो पटकदेखि सधवा रहञ्जेलसम्म साधारण प्रकारले गर्ने गर्दछन् ।
यसमा वटबृक्षसम्म जाने सुविधा नभएको खण्डमा वटबृक्षको हाँगा टिपेर आँगनमा रोपेर पनि व्रत सम्पन्न गरिन्छ । पौराणिक कथाअनुसार सावित्रीले सोही रूखमुनि आराधना गरी मृत पति सत्यवानलाई जीवित तुल्याएको जनश्रूती छ ।
यसमा वरको रूखमुनि गौरी, भगवती र विसहराको कथा सुन्ने र पूजा सकिएपछि व्रत बस्ने महिलाले वरको पात कपालमा सिउरेर अटल सौभाग्यको वरदान माग्दछन् ।
सति सावित्री को हुन् ? मद देशका राजा अश्वपतिले आफ्नी सुयोग्य छोरी सावित्रीका लागि सुयोग्य बर (बेहुला) खोज्न सक्नु भएन । त्यसपछि, छोरी सावित्रीलाई आफ्ना लागि सुयोग्य बर खोज्न राजाले सुझाव दिए । सावित्रीले सुयोग्य बर खोजेर घर फर्केपछि, त्यहाँ नारदमुनीसँग साक्षात्कार भयो । सावित्रीले शाल्वदेशका राजा द्युमत्सेनका छोरा सत्यवानलाई मन पराएको जानकारी गरायो । राजा द्युमत्सेन दृष्टिहीन भएपछि रुक्मी नामका राजाले राज्य कब्जा गरेपछि उनीहरू यतिखेर जंगलमा बस्ने गरेको, सावित्रीले जानकारी गराइन् ।
यस विषयमा नारदले जानकारी पाउनासाथ सत्यवान अल्पायु रहेका कारण विवाह नगर्न सुझाव दिए पनि सावित्रीले सत्यवानलाई पतिका रुपमा मनमनै वरण गरी सकेकाले अब उनसँगै विवाह गर्ने अडान लिएपछि विवाह सम्पन्न भयो । तत्पश्चात निर्धारित समय मा टाउको दुखाइबाट सत्यवानको मृत्यु भएपछि सावित्रीले आफ्नो बुद्धिमत्ताले यमराजलाई प्रसन्न गरी पतिको जीवन फिर्ता लिनुका साथै दीर्घायुको वरदान, ससुराको आँखाको ज्योति, गुमेको राज्य र एकसय पुत्रको वरदान प्राप्त गरे । सोही समयदेखि पतिको दीर्घायु, सुस्वास्थ्य र मंगलमय कामनाका लागि यो पर्व मनाउन थालिएको विश्वास गरिन्छ ।


--
Posted By मार्गानुगामी राष्ट्रिय दैनिक to Marganugami Daily at 5/15/2018 07:23:00 PM

No comments:

Powered by Blogger.